रुपन्देही– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका जिल्ला उपाध्यक्ष अजयकुमार गुप्तासहित तीन जनाले पार्टी परित्याग गरेका छन् । मंगलबार भैरहवामा पत्रकार सम्मेलन गरी उनीहरुले राप्रपाको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको जनाएका छन् ।
त्यस्तै राप्रपा रुपन्देही क्षेत्र नम्बर ३ का क्षेत्रीय उपाध्यक्ष तथा हालका कार्यवाहक अध्यक्ष डा. अमित चतुर्वेदी र राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन रुपन्देहीको जिल्ला सल्लाहकार तथा २०७९ सालको स्थानीय तह निर्वाचनमा सिद्धार्थनगर नगरपालिकामा उपमेयर उम्मेदवार बनेकी विनिता गुप्ताले पनि पार्टी परित्याग गरेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै गुप्ताले यथास्थितिवादीमा पार्टी चलेको बताए । उनले पछिल्लो समय राजनीतिक पार्टीहरुप्रति जनताको विश्वास घटेको अवस्थामा पनि नेतृत्व वर्गले जनताको गुनासो बुझ्न नसकेको बताए ।
राजनीतिक दलमा युवाहरुलाई उचित स्थान नदिइएको उनको गुनासो छ । ‘८ वर्षसम्म राप्रपामा रहेर काम गरेको हुँ, तर अब पार्टीमा रहेर काम गर्नसक्ने अवस्था छैन, जहाँ सम्मान हुँदैन, त्यहाँ बस्नुको औचित्य हुँदैन । अबदेखि स्वतन्त्र रुपमा जनताको सेवा गर्छु’, गुप्ताले भने । तत्काल कुनै पार्टी जाने निर्णय नगरेको उनले स्पष्ट पारे ।
रुपन्देहीमा क्षेत्र नम्बर ३ राप्रपा नेता दीपक बोहराको निधन भएपछि पार्टीभित्र टिकटको आन्तरिक रूपमा नेताहरू टिकट ल्याउने तयारी गरेका छन् । टिकट नपाउने सङ्केत पाएपछि राजीनामा दिएको भन्ने प्रश्नमा उनले टिकटको दौडमा आफू नभएको, तर पार्टीभित्र काम गर्ने वातावरण नभएपछि छोडेर स्वतन्त्र नागरिकको रूपमा काम गर्ने बताए ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।