काठमाडौँ –संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दैछ । बिहान ११ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संसद्का दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/०८३ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि सांसदहरूको जिज्ञासा र प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची छ ।
नीति तथा कार्यक्रममाथि दर्ता भएका ३७ संशोधन प्रस्तावलाई निर्णयका लागि प्रस्तुत गरिने छ । वैशाख २२ गतेदेखि प्रतिनिधिसभामा यो विषयमा छलफल सुरु भएको थियो ।
प्रधानमन्त्रीको जवाफ पछि सभामुख देवराज घिमिरेले सरकारको आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रममालाई सदन समक्ष निर्णयार्थ प्रस्तुत गर्नेछन् ।
यस्तै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि छलफलका लागि प्रस्ताव पेश गर्ने छन् । राष्ट्रियसभामा पनि प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने र संशोधन प्रस्तावलाई निर्णयका लागि प्रस्तुत गरी पारित गर्ने कार्यसूची छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।