एजेन्सी–पाकिस्तानी सेनाले ३-४ सय ड्रोनमार्फत भारतको सैन्य पूर्वाधारलाई लक्षित गरी हमला गरेको भारतले दाबी गरेको छ।
भारतीय विदेश मन्त्रालयले शुक्रबार अपरान्ह प्रेस ब्रिफिङ गर्दै यस्तो जानकारी दिएको हो।
पाकिस्तानी सेनाले बिहीबार राति सैन्य पूर्वाधारहरूलाई निशासना गरी ड्रोन हमला गरेको भारतीय सेनाकी कर्णेल सोफिया कुरैशीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
कर्णेल सोफियाले भनिन्, ‘लेहदेखि सरक्रिकसम्मका ३६ स्थानमा ३०० देखि ४०० ड्रोन हमलाको प्रयास भएको थियो। भारतीय सुरक्षा बलले काइनेटिक र गैर-काइनेटिक माध्यमबाट त्यसमध्ये धेरै ड्रोनहरूलाई खसाल्न सफल भयो।’
ड्रोन मार्फत पाकिस्तानले भारतको वायु रक्षा प्रणाली परीक्षण गर्न र गुप्तचरबारे जानकारी संकलन गर्न खोजेको भारतको आरोप छ।
भारतीय सेनाका अनुसार ड्रोनको भग्नावशेषको फोरेन्सिक जाँच भइरहेको छ। प्रारम्भिक अनुसन्धानले यी ड्रोनहरू टर्कीमा निर्मित भएको भारतले आशंका गरेको छ।
‘पाकिस्तान तर्फबाट सीमामा भारी गोलाबारी भइरहेको छ। यस गोलाबारीबाट केही भारतीय सेनाका सैनिकहरू मारिएका छन्। भारतको जवाफी कारबाहीमा पाकिस्तानले ठूलो क्षति बेहोरेको छ,’ उनले भनिन्।
यद्यपि, कर्णेल सोफियाले सीमामा पाकिस्तानले गरेको गोलाबारीमा मारिएका वा घाइते भएका भारतीय सैनिकहरूको संख्याको बारेमा कुनै जानकारी दिइनन्।
तर पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतको उक्त दाबीलाई अस्वीकार गरेका छन्। भारतको दाबी अस्वीकार गर्दै आसिफले भने, ‘हामीले अहिलेसम्म केही गरेका छैनौं। जब पाकिस्तानले आक्रमण गर्छ, सबैले थाहा पाउनेछन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।