एजेन्सी – रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ । भेटमा चिनियाँ राष्ट्रपति जिनपिङले चीन र रसियाले विश्वका प्रमुख राष्ट्रका रूपमा विशेष जिम्मेवारी बहन गर्न तयार रहेको बताएका छन् । उनले हालको विश्व परिदृश्यमा एकपक्षीयता, शक्तिको राजनीति र दादागिरी जस्ता प्रवृत्तिको विरोध गर्दै, दुवै देशले अन्तर्राष्ट्रिय न्याय, निष्पक्षता र संयुक्त राष्ट्रसंघको अधिकारको संरक्षण गर्न मिलेर काम गर्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार सीले चीन–रसिया सम्बन्धलाई इतिहासमा आधारित गहिरो मित्रता भएको भन्दै यसलाई नयाँ युगमा अझ सशक्त, स्थिर र दीर्घकालीन बनाइने स्पष्ट पारेका थिए । द्वितीय विश्वयुद्धको ८०औं वार्षिकोत्सवको सन्दर्भमा ऐतिहासिक तथ्यको रक्षा, विकासशील देशहरूको अधिकारको संरक्षण र समावेशी तथा समान विश्व व्यवस्था निर्माणमा चीन–रसिया मिलेर काम गर्ने प्रतिबद्धता जनाएका हुन् ।
सीले ऊर्जा, व्यापार, कृषि, अन्तरिक्ष, कृत्रिम बौद्धिकता जस्ता क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिँदै, बेल्ट एण्ड रोड पहल र यूरेशियन आर्थिक संघबीच सहकार्य मार्फत उच्चस्तरीय पूर्वाधार विकास गर्नुपर्ने स्पष्ट पारेका छन् । साथै, शिक्षा, संस्कृति, पर्यटन, चलचित्र, खेलकुद जस्ता जनस्तरका आदानप्रदानहरू बढाएर दुई देशबीचको सम्बन्ध अझ बलियो बनाउने बताएका छन् ।
चीन, चाहे जस्तोसुकै अन्तर्राष्ट्रिय परिस्थिति आए पनि आफ्ना कार्यहरू दृढताका साथ अघि बढाउने र रसियासँग मिलेर अन्तर्राष्ट्रिय प्रणाली सुधार गर्ने दिशामा काम गर्ने प्रतिबद्धता जनाएको समाचारमा उल्लेख छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।