काठमाडौं –भारत र पाकिस्तानले एक अर्कामाथि ड्रोन र मिसाइल आक्रमण गर्न थालेपछि दुवै देशले नागरिकहरूको सुरक्षामा उच्च सतर्कता अपनाएको छ । सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै बिहीबार भारतले २४ वटा विमानस्थल बन्द गरेको भारतीय पत्रिका द हिन्दुस्तान टाइम्सले जनाएको छ ।
बिहीबारदेखि दिल्ली विमानस्थलमा मात्रै ९० वटा उडानहरू रद्द गरिएका छन् । पाकिस्तानले भारत प्रशासित जम्मू, पन्जाब, गुजरात र राजस्थानका भूभागहरूमा हवाइ आक्रमण गर्न थालेपछि भारतको नागरिक उड्डयन प्राधिकरणले विमानस्थल बन्द गर्ने निर्णय गरेको हो ।
पाकिस्तानका रक्षामन्त्री खावाजा आसिफले बिहीबार भारतका २५ वटा ड्रोन झारेको बताएका थिए । पाकिस्तानी सेनाले लाहोर, रावलपिण्डी र कराँची लगायत क्षेत्रबाट ड्रोन र मिसाइल प्रयोग गरी भारतीय ड्रोन झारेको बताइएको छ । भारतले पनि एयर डिफेन्स प्रयोग गरी पाकिस्तानी ड्रोन र मिसाइल आक्रमण रोकेको उल्लेख छ । पश्चिमी र उत्तरी भारतमा पाकिस्तानले प्रहार गरेका कयौं ‘टार्गेट’ निष्क्रिय पारेको भारतले बताएको छ ।
पाकिस्तानले भारत नियन्त्रित कश्मिरमा ४० देखि ५० जना भारतीय सेना मारेको पनि दाबी गरेको छ । ‘हामीले उनीहरूको सैनिक इलाकामा विस्फोट गरेका छौं,’ पाकिस्तानको सञ्चार मन्त्री अतुल्लाह तरारले स्काइ न्युजसँग भनेका छन् । बुधबार भारतले अपरेसन सिन्दुरको नाममा पाकिस्तानका नौ स्थानमा आक्रमण गरेको थियो । पाकिस्ताले त्यसको जबाफ दिने बताउँदै आएको छ ।
बन्द गरिएका विमानस्थलहरू अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थलहरू छन्। विमानस्थल बन्द गरिँदा भारतका एयरलाइन्स कम्पनीहरूले ठूलो घाटा ब्यहोर्नुपरेको भनेर हिन्दुस्तान टाइम्समले लेखेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।