काठमाडौँ– राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापनासहित संघीयताको खारेजीको आन्दोलनका लागि वैशाख २५ महत्वपूर्ण दिन भएको बताएका छन्।
राजसंस्था पुनःस्थापनाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले बिहीबार काठमाडौँमा गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले गणतन्त्र र धर्मनिरपेक्षताको अन्त्य गरेर राजासहितको प्रजातन्त्र चाहनेबिच धुर्वीकरण हुन जरुरी रहेको बताएका हुन्।
लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा रहेका अन्य दलका नेता कार्यकर्ताहरुलाई धुर्वीकरण हुन आह्वान गरे। उनले राष्ट्रवादीहरुको आन्दोलन देशका लागि भएको भन्दै सिंगो देशवासीलाई आन्दोलनमा सहभागी हुन समेत आग्रह गरे।
लिङ्देनले पनि थापाले जस्तै आन्दोलन सफल नभएसम्म नरोकिने दाबी गरे। ‘देश यही अवस्थामा बसिरहन सक्दैन, नयाँ सम्झौतामा जानुपर्यो। जबकि राजादेखि सबै शक्ति अटाउन सकोस्’, लिङ्देनले आफूहरुको प्रस्तावलाई नस्वीकारी गणतन्त्र पक्षधरले दमनको बाटो बढारिने चेतावनी दिए।
‘अब बल सरकारको कोर्टमा छ। तपाईंहरु के चाहानुहुन्छ। देखिरहनुभएको होला केही दिन पहिला सम्पूर्ण राज्यशक्ति प्रयोग गरेर यो आन्दोलनको प्रतिवाद गर्ने अभ्यास पनि गर्नुभयो’, उनले भने, ‘जनता कति उपस्थित छन् ?’ उनले दमन र जालझेलको सहारा नलिई समझदारीमा आउन गणतन्त्र पक्षधर दल र सरकारलाई आग्रह समेत गरे। उनले राजसंस्थाको कुरा गर्नु भनेको लोकतन्त्रको विरोध गर्नु नभएको भन्दै उन्नत मुलुकमा राजतन्त्र रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।