काठमाडौं–भारतले गएराति पाकिस्तान प्रशासित कश्मिर र पाकिस्तानका विभिन्न क्षेत्रमा गरिएको हवाई आक्रमणपछि भारत–पाकिस्तान तनाव चुलिएको छ।
भारतले दुई साताअघि एक नेपालीसहित २६ जना भारतीय नागरिकको जम्मु कश्मिरको वैसरण उपत्यकामा भएको आतंकवादी हमलाको ‘जवाफी कारबाही’ गरिएको भनेको छ। भारतीय सेनाले ‘न्याय दिइएको’ भन्दै संक्षिप्त प्रतिक्रिया दिएको छ।
भारतीय सञ्चारमाध्यमले भने १०० भन्दा बढी मारिएको दाबी गरेका छन्।
यता अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले कम्तिमा ३५ जना मारिएको बताएका छन्। तर पाकिस्तानले भने दुई बालबालिकासहित ७ जना मारिएको दाबी गरेको छ।
अहिलेसम्म कति मानवीय क्षति भयो भन्ने आधिकारिक रुपमा कतै पुष्टि भइसकेको छैन।
भारतको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘भारतीय सैन्य बलहरुले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मिरमा आतंकवादी संरचनाहरुलाई लक्षित गरेर अपरेशन सिन्दुर चलाएका छन्, जहाँबाट भारतविरुद्ध आतंकवादी हमलाको योजना बनाइएको थियो र निर्देशन दिइएको थियो।’
तर, पाकिस्तानका प्रधानमन्त्री शहवाज सरिफले ‘कायरतापूर्ण आक्रमण’ भन्दै जवाफ दिइने बताएका छन्। यसपछि दुई देशबीच तनावको स्थिति सिर्जना भएको छ।
तस्वीरहरुमा हेर्नुस् हमलापछि उत्पन्न परिस्थितिः

कराँचीको अन्तर्राष्ट्रिय विमानस्थलमा सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू रद्द भएपछि यात्रुहरू बाहिर अलपत्र छन्। तस्वीरः आसिफ हसन, एएफपी


ट्रकहरूले लाहोरबाट करिब ३० किलोमिटर टाढा रहेको मुरिद्केमा सडक हुँदै सेनाका ट्याङ्कहरू ढुवानी गरिरहेका छन्। तस्वीरः मुर्तज अली, एएफपी

मानिसहरूले २०२५ मे ७ मा भारतीय प्रशासन अन्तर्गतको कश्मीरको मुख्य सहर श्रीनगर नजिक वुयानमा विमानको टुक्रा भेटेका छन्। पाकिस्तानी अधिकारीहरुले भारतका केही लडाकु विमानहरु खसाएको बताएका छन् । तर, त्यो टुक्रा के हो भन्ने स्पष्ट भइसकेको छैन । तस्वीरः तौसीफ मुस्तफा, एएफपी

श्रीनगर नजिक वुयानमा तैनाथ भारतीय सुरक्षा अधिकारीहरु । तस्वीरः तौसरिफ मुस्ताफा, एएफपी

सशस्त्र अर्धसैनिक बलका सैनिकहरूले २०२५ मे ७ मा भारतले आक्रमण गरेपछि लाहोरबाट करिब ३० किलोमिटर टाढा पर्ने मुरिद्केमा रहेको सरकारी स्वास्थ्य तथा शैक्षिक परिसरको क्षतिग्रस्त भवनको निरीक्षण गरिरहेका छन्। तस्वीरः आरिफ अली, एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।