काठमाडौँ–राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राजसंस्था जनमतमा गएर वा आन्दोलनबाट नभई छलकपटबाट फालिएको बताएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै शाहीले कसैको राजनीतिक आस्थामाथि प्रहार गर्नु राम्रो नहुने बताएका हुन्।
उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई बाघको संज्ञा दिँदै रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्न नसक्ने टिप्पणी गरे। प्रमुख सचेतक शाहीले भने ‘कसैको राजनीतिक आस्थामाथि ठाउँ ठाउँमा प्रश्न भएको छ। अघि यहाँ एक जना माननीयज्यूले भन्नुभयो। बाघ होइन भन्नुभयो। बाघ बाघै हो। रङ मिल्यो भन्दैमा बिरालो बाघ हुन सक्दैन।’
उनले अहिलेका राजनीतिक दलहरूको जन्म विदेशमा भएको बताउँदै यसको प्रमाण राजदूत भइसकेका व्यक्तिको अभिव्यक्तिहरूबाट मिल्ने बताए। प्रमुख सचेतक शाहीले अहिलेको संविधान र व्यवस्था विदेशीहरूले ल्याइदिएको बताए।
उनले भने, ‘तपाईँहरूको यो क्रान्ति केके भन्नुहुन्छ, कहाँबाट आयो भन्ने कुरा त स्पष्ट थाहा छ नि। हरेकको जन्म त विदेशमै भएको हो नि त। चाहे १२ बुँदेको कुरा गर्नुस्, चाहे नेताहरू लुक्ने कुरा गर्नुस्, यो मैले भनेको होइन। पूर्वराजदूतहरूले बोलेका स्टेटमेण्ट हेर्नुस् न। स्वयं भारतका तत्कालीन विदेशमन्त्री सुष्मा स्वराजले संसद्मा बोलेको तपाईँहरूले राजा कसरी फाल्नुभयो, विदेशीको आडमा स्पष्ट भन्नुभएको छ। यो संविधान र व्यवस्था त उनीहरूले ल्याइदिएको हो नि त। त्यसैले राष्ट्रवादी भनेको राष्ट्रवादी हुन्छ, बाघ बुढो भए पनि बाघै हो। बिरालोको रङ मिल्यो भन्दैमा बिरालो बाघ हुन्छ त ? त्यसैले यो देशको इतिहास हो राजसंस्था। बाघ बाघै हो। रङ मिल्यो भन्दैमा बिरालो बाघ हुन सक्दैन, राजा राजै हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।