काठमाडौं–नेकपा एमालेका सचिव योगेश भट्टराईले देशमा फजुल खर्चका आयोजनाहरूमा बजेट हाल्न माओवादी पार्टी र तत्कालीन प्रधानमन्त्री प्रचण्ड अग्रपंक्तिमा रहेको बताएका छन्।
प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै एमाले सांसद भट्टराईले सोमवार विपक्षी दलका नेता प्रचण्डले सरकारमाथि लगाएको आरोपको प्रतिवाद गरेका हुन्।
भट्टराईले दमकको बिजनेश टावरको विरोध गर्ने माओवादीले देशैभर भ्यू टावर र शहीद गेटका नाममा बजेट खेर फालेको दाबी गरे। उनले सुनसरी मोरङ र झापाको जनसंख्या तथा भारतको समेत सम्बन्धका कारण दमकको व्यापारिक टावर भविष्यमा व्यापारिक केन्द्र बन्न सक्ने बताएका छन्।
भट्टराईले विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सरकारले हटाउँदा प्रचण्डको मुटुमा किला ठोकेजस्तो किन भएको भनी प्रश्न समेत गरे।
उनले भने- ‘सरकारले एउटा सहसचिव सरहको कर्मचारीलाई काममा ट्युनिङ मिलेन भनेर मन्त्रीको प्रस्तावमा हटायो तर तपाईँको मुटुमा किला ठोके जस्तो किन भयो ? यो सरकारले त एउटा सहसचिव सरहको कर्मचारी हटायो तपाईँले त प्रधान सेनापति नै हटाउनुभएको होइन ? एक पटक सम्झिनुस् त कसरी हटाउनु भएको थियो ? अस्तिकै कार्यकालमा पनि मुख्य सचिव हटाएर हुँदै नभएको पद राष्ट्रिय सुरक्षा परिषदको सल्लाकार पोष्ट खडा गर्नुभयो। तपाईँले अर्को मुख्य सचिव ल्याउनुथियो, अनि त्यसो गर्न मिल्थ्यो ?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।