एजेन्सी– भारतको नयाँ दिल्लीबाट शिरडीतर्फ जाँदै गरेको विमानमा एयर होस्टेसलाई बदनियतपूर्वक छुने एक यात्री पक्राउ परेका छन्।
शुक्रबार इन्डियो एयरलाइन्सको विमानमा उक्त घटना भएको हो।
प्रहरीले आइतबार यसबारे जानकारी दिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। प्रहरीका अनुसार आरोपित यात्रीले उडिरहेको विमानभित्र एयर होस्टेसलाई बदनियतपूर्वक छोएका थिए।
एयर होस्टेसले उक्त घटनाबारे तत्कालै क्रु मेनेजरलाई जानकारी गराएकी थिइन्। विमान शिरडी विमानस्थलमा अवतरण गर्नासाथ सुरक्षा अधिकारीहरूलाई घटनाबारे जानकारी गराइएको थियो।
सुरक्षाकर्मीले आरोपित यात्रीलाई तत्काल नियन्त्रणमा लिएर रहाटा प्रहरी स्टेशनमा लगेको बताइएको छ। आरोपित यात्रीलाई प्रहरीले स्वास्थ्य परीक्षण गराउँदा उनले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरी स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आरोपित यात्रीमाथि कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ।
इन्डियो एयरलाइन्सले यस प्रकारका घटनालाई सहन नसकिने प्रस्ट पारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।