काठमाडौं—सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल उपकरण खरिद गर्दा भ्रष्टाचार गरेको कसुरमा दोषी ठहर भएका छन् ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले पौडेललाई आइतबार दोषी ठहर गर्दै सजाय निर्धारण गरेको हो ।
पौडेललाई अदालतले १ वर्ष ६ महिना कैद र दामासाहीले १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ बिगो बराबरको जरिवाना गर्न फैसला गरेको छ । पौडेल केन्द्रको कार्यकारी निर्देशकको भूमिकामा रहेको देखिँदा थप ६ महिना पनि कैद सजाय सुनाइएको छ ।
त्यस्तै मुद्दाका अन्य प्रतिवादीहरु म्याक्स इन्टरनेसनल प्रालि र सीईओ अकबर हुसेनको हकमा पनि १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ जरिवाना र सोही बराबरको बिगो असुल गर्न फैसला भएको छ । अकबर हुसेनलाई पनि १ वर्ष ६ महिना कैद गर्ने ठहर भएको छ ।
विकल, म्याक्स इन्टरनेशनल प्रालि, अकबरले जनही ५४ लाख ३४ हजार १०३ रुपैयाँ क्षतिपूर्ति शुल्कबापत पीडित राहत कोषमा दाखिला गर्नुपर्ने ठहर पनि विशेषले गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।