काठमाडौं–पहलगाम आक्रमणपछि पाकिस्तानसँग बढ्दो तनावका बीच भारतले बुधबार जवाफी कारबाही गर्दै पाकिस्तानी विमानका लागि आफ्नो ‘एयरस्पेस’हवाई क्षेत्र बन्द गरेको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार यो बन्द १ मेदेखि २३ मेसम्म लागू हुनेछ। यस सम्बन्धमा बुधबार साँझ एयरपोर्ट्स अथोरिटी अफ इन्डिया (एएआई)ले एक नोटम(नोटिस टू एयरमेन) जारी गरेको छ।
यो बन्द पाकिस्तानमा पञ्जिकृत विमान, पाकिस्तानी एयरलाइन्स र अपरेटरका तर्फबाट चल्ने, यसको स्वामित्व, या भाडामा दिइएका विमान भारतीय हवाई क्षेत्रमा प्रवेश गर्न पाउने छैनन्।
यो प्रतिबन्द पाकिस्तानी सैन्य विमानमा पनि लागू हुने एक वरिष्ठ सरकारी अधिकारीले पीटीआईसँग भनेका छन्।
भारत र पाकिस्तानबीच सिधा उडान छैन। पाकिस्तानी एयरलाइन्स सिंगापुर, मलेशिया र अन्य पूर्वी एशियाली देशमा आफ्नो उडानका लागि भारतीय हवाई क्षेत्रको प्रयोग गर्छन्।
२२ अप्रिलमा पहलगाममा भएको आतंकवादी आक्रमणपछि पाकिस्तानविरुद्ध भारतले २३ अप्रिलमा कयौं कदम उठाएको थियो। यसमा सिन्धु जल सम्झौता निलम्बित, अटारीमा एक मात्र सञ्चालनमा रहेको क्रसिङ बोर्डर बन्द र राजनीतिक सम्बन्धलाई कम गरिएको थियो।
यसको जवाफमा पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्दै तेस्रो देशमार्फत् भारतसँगको सबै व्यापार सम्बन्ध निलम्बित गरेको थियो।
सिन्धु जल सम्झौतालाई लिएर पाकिस्तानले यदि पानी रोकियो भने त्यसलाई युद्धको सुरुवात मानिने चेतावनी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।