काठमाडौं–सत्तारुढ दल नेपाली कांग्रेसले राजसंस्था पुनस्थापनाको अभियान बोकेर हिंड्नेहरूलाई सपना नदेख्न आग्रह गरेको छ।
शुक्रबार प्रतिनिधिसभामा पार्टीको तर्फबाट बोल्ने क्रममा प्रमुख सचेतक श्यामकुमार घिमिरेले राजसंस्थाका पुनस्थापनका लागि गरिएका सबै टिप्पणी व्यर्थ हुने बताएका हुन्।
साथै, कांग्रेसले चिना टिप्पण नहेर्न पनि आग्रह गरेको छ।
‘कसैले आन्दोलन गरेर नारायणहिटीमा राजालाई पुर्याएर यो देशको कल्याण हुन्छ भन्ने सपना नदेखे हुन्छ,’ चिना टिप्पण नहेरे हुन्छ। त्यसका लागि गरेका सम्पूर्ण टिप्पणी व्यर्थ हुनेछन्।’
नेपाली कांग्रेसलाई कसैले संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको पाठ पढाउन आवश्यक नभएको उनको भनाइ छ।
‘संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको अडान नछाडेको नेपाली कांग्रेसलाई कसैले संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको पाठ पढाउन पर्दैन,’ प्रमुख सचेतक घिमिरेले भने, ‘नेपाली कांग्रेसले आफ्नो मार्गचित्र त्यसै बदलिएको हैन। नेपालको राजतन्त्रको अभिषप्त इतिहासलाई उल्ट्याएको मात्रै हो।’
उनले विगतको २० वर्षमा केही पनि भएन व्यवस्था मात्रै परिवर्तन भयो भन्ने तर्कमा कुनै सत्यता नभएको बताए।
घिमिरेले भने, ‘तथ्यांकले पनि भन्छ, तथ्यांकले मात्रै होइन हाम्रो आँखाले पनि २० वर्ष अघि-पछिकोलाई देखेको छ। संसारको तुलना गर्ने हो भने आज अमेरिकासँग तुलना गरेर नहोला। तीनका तुलनामा हाम्रो विकासको गति कमजोर होला तर हामी साह्र नै कमजोर अवस्थामा छौं भन्ने अवस्थामा छैनौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।