काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको चिन्ता नगर्न आग्रह गर्दै मिसन ०८४ मा लाग्न आग्रह गरेका छन् । सरकारबारे अनेक चर्चा भइरहेका बेला उनले सरकारभन्दा चुनावको चिन्ता गर्न आग्रह गरेका हुन् ।
‘यतिबेला नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार एउटा संकल्पका साथ बनेको हो । स्थिरता र स्थायित्वका लागि बनेको सरकार हो । सरकारको बारेमा धेरै चिन्ता गर्ने होइन । चुनावको बारेमा चिन्ता गर्नु पर्दछ । त्यसैकारण एमालेले सरकार बचाउ भनेर कराएको छैन,’ उनले भने, ‘एमालेले जहिल्यै पनि चुनाव हेरेको हुन्छ । हामीले ७०, ७९ को चुनाव भन्यौ । ८४ को चुनाव भनेका छौं । मिसन ०८४ भनेका छौं । म साथीहरुलाई आग्रह गर्न चाहन्छु, ढुक्कले मिसन ०८४ मा लाग्नुस् ।’
उनले संसद्को बनावटअनुसार ठीक ढंगले देशलाई अघि बढाउन सकेसम्म प्रयासहरु एमालेले गर्ने बताए । ‘त्यसकारण यस कुरामा चिन्ता नगर्नुस् । मिसन ०८४ मा ध्यान दिनुस्,’ उनले भने, ‘मिसन ०८४ एमालेलाई निर्णायक शक्तिका रुपमा विकास गर्ने मिसन हो । यसबाट देश बन्छ, समृद्धि, राष्ट्रिय एकता बन्छ ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।