काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताको दुष्चक्रले जनतालाई चिन्तित तुल्याएको बताएका छन्।
साथै उने युवाहरूले विचारलाई एकीकृत गरेर आगामी निर्वाचनमा नेकपा एमालेलाई बहुमत दिलाए मात्र नेपालको राजनीतिक अस्थिरता हट्ने मुलुकको विकास हुने बताएका छन्।
बिहीबार काठमाडौँको भृकुटी मण्डपमा पार्टी स्थापना दिवस र लोकतन्त्र दिवसका अवसरमा भएको ‘यूथ सेलिब्रेशन’कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले कुनै पनि राष्ट्रको विकास र सम्मृद्धिका लागि भिजनरी नेतृत्व, स्ट्रङ पोलिटिकल पार्टी र स्थायित्व अनिवार्य भएको बताए।
उनले अब नेपालमा युवाहरूले जनमत विभाजित गर्न नहुने तथा जनमत ध्रुवीकरण समेत गर्न नहुने बताए। ‘त्यसरी बलियो र राष्ट्रिय शक्तिको निर्माण गर्नुपर्छ। अब युवाहरूले धेरैतिर आफ्ना विचार छर्ने होइन। विचारलाई एकीकृत गर्नुपर्दछ र सङ्कल्पका आधारमा राष्ट्र निर्माणमा अघि बढ्नुपर्दछ’, पोखरेलले भने, ‘जसरी छिमेकीहरूले राजनीतिक स्थिरताको सुनिश्चित गरेका छन्।’
युवाहरूको भविष्य सुरक्षित राख्न एमाले प्रतिबद्ध रहेको भन्दै पोखरेलले आउने बजेट र नीति कार्यक्रम युवामैत्री हुने दाबी गरे। पोखरेलले देश हितका निम्ति दरिलो ढङ्गले उभिने पार्टी एमाले भएको भन्दै राष्ट्रका समस्या पनि एमालेले नै सम्बोधन गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।