काठमाडौं–काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आफ्नो पार्टी नेकपा एमालेले सामाजिक सञ्जालमा भाँडभैलो गरेर उग्र बन्न नसिकाउने बताएकी छिन्।
लोकतन्त्र दिवसको अवसर पारेर काठमाडौंको भृकुटिमण्डपमा आयोजित युथ सेलिब्रेसन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन्।
नले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई लगित गर्दै सामाजिक सञ्जालमा भाँडभैलो मच्चाउन नसिकाउने आग्रह गरिन्।
‘एमालेले युवालाई दश नङ्ग्रा खियाउन सिकाउँछ, त्यस कारण म एमालेमा छु’, डङ्गोलले भनिन्, ‘स्टन्ट गरेर देश बन्दैन, अरूलाई गाली गरेर देश बन्दैन, देश बनाउने हो भने योजना अनुरूप काम गर्नुपर्छ, योजना बनाउनु पर्छ।’ नेकपा एमालेका युवाहरू समस्याबाट भाग्ने युवा नभएको बताइन्।
नेपाली युवाले काम गर्न सक्छ भन्ने कुरा आफूले विश्व सामु प्रस्तुत गरेको दाबी गरिन्। युवाले सही र गलत छुट्याउनु पर्ने उनको भनाइ छ। युवाले हरेक कुरालाई रचनात्मक हिसाबले विश्लेषण गर्नुपर्ने बताइन्।
‘एमालेले कसैको घर जलाउन सिकाउँदैन्। कहिँ कतै लुटपाट गर्न युवा प्रयोग गर्दैन। एमालेले आफ्नो दश नंग्रा खियाएर राष्ट्रका लागि काम गर्न सधैं प्रेरित गरिरहन्छ,’ उपप्रमुख डंगोलले भनिन्, ‘त्यसकारण मलाई एमाले मन पर्छ। सोसल मिडियामा भाँडभैलो गरेर उग्र बन्न एमालेले सिकाउँदैन्। एमालेले राम्रा कामका प्रचार प्रसार गर्न युवा शक्तिको सदुपयोग गर्छ। त्यसकारण मलाई एमाले मन पर्छ।’
उनले अहिले आफ्नो पार्टीको नेतृत्व र आफूलाई समेत चारैतिबाट आक्रमण भइरहेको बताइन्।
‘अहिले हामीलाई चारैतिरबाट आक्रमण भएको महसुस गर्न सक्छौं। जतिसुकै आक्रमण भए पनि हामी विचलित हुने छैनौं। राष्ट्र निर्माणमा एकजुट भएर लाग्नेछौं,’ डंगोलले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।