दैलेख –दैलेखमा सुतेकै ठाउँबाट एउटा शिशु गायब भएका छन् । जिल्लाको ठाटीकाँध गाउँपालिका–१, सिराडी ग्वालिपिन्नमा गएराति तीन महिनाको शिशु बेपत्ता पारिएको हो । गएराति ९ बजेतिर स्थानीय बमबहादुर बुढाकी छोरी श्रीया बुढालाई बेपत्ता पारिएको प्रहरीले जनाएको छ ।
बमबहादुरका दाजु दीपक बुढाका अनुसार सबै सुतिरहेका बेला घर पछाडिको रुखमा राखेको खरमा आगो लागेको थियो । खरमा आगो लागेको थाहा पाएपछि घरका सबै जना आगो निभाउन गएका थिए । तर, आगो निभाएर फर्किँदा घरमा बच्चा थिएन । बच्चा चोर्न कुनै समूहले खरमा आगो लगाएको हुनसक्ने उनले आशंका गरे ।
बेपत्ता पारिएको शिशुसँगै अर्को छोरा पनि साथमा सुतेका थिए । तर, आउँदा ठुलो बच्चा सुतिरहेकै भए पनि सानो बच्चा नभएको उनले बताए । घटनालगत्तै स्थानीयले ठाटीकाँध प्रहरी चौकीमा खबर गरेका थिए । राति नै प्रहरी त्यहाँ पुगेको थियो ।
तर, खोजतलासी गर्दा कुनै ‘क्लु’ पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय दैलेखमा प्रहरी प्रमुख सुनिल दाहालले बताए । ‘अचम्म लाग्दो घटना भयो,’ उनले भने, ‘अहिले पुनः त्यहाँ प्रहरी परिचालन गरिएको छ । घटनाको अनुसन्धान गरिरहेका छौं ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।