एजेन्सी– चीन, जापान र दक्षिण कोरियाका शीर्ष कूटनीतिज्ञको बैठकले कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्नु साझा जिम्मेवारी भएको निष्कर्ष निकालेको छ।
गत बर्षको मे महिनामा सियोलमा भएको दुर्लभ त्रिपक्षीय शिखर सम्मेलनपछि शनिवार भएको वार्तामा ऐतिहासिक र क्षेत्रीय विवादबाट गुज्रिरहेका छिमेकीहरू सम्बन्धलाई प्रगाढ बनाउन सहमत भएका हुन्। उनीहरूले कोरियाली प्रायद्वीपमा आणविक निःशस्त्रीकरणको आफ्नो लक्ष्यलाई दोहोर्याएका छन्।
उत्तर कोरियाले गरेको हतियार परीक्षण र युक्रेनविरुद्धको रुसको युद्धलाई समर्थन गर्न उसले तैनाथ गरेको सेनाको तैनाथीबारे चिन्ता बढिरहेका बेला यस क्षेत्रमा अमेरिकाले व्यापार कर वृद्धि गरेको छ। ‘कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरता कायम गर्नु तीनै देशको साझा हित र जिम्मेवारी हो भन्ने कुरामा हामीले पुनः पुष्टि गरेका छौँ,’ दक्षिण कोरियाका राष्ट्रपति चो ताइ–युलले शनिवार भने, ‘यसका साथै मैले रुस र उत्तर कोरियाबीचको अवैध सैन्य सहयोग तत्काल रोक्नुपर्नेमा जोड दिएको छु।’
सियोल र टोकियोले प्योङयाङको सबैभन्दा महत्वपूर्ण सहयोगी र आर्थिक हितैषी रहेको चीनभन्दा उत्तर कोरियाविरुद्ध बलियो अडान लिने गरेका छन्। जापानका विदेशमन्त्री ताकेशी इवायाले आफू, चो र चीनका विदेशमन्त्री वाङ यीबीच त्रिपक्षीय सहयोग र क्षेत्रीय अन्तर्राष्ट्रिय मामिलामा स्पष्ट विचार आदानप्रदान भएको बताए। ‘हामी भविष्य–केन्द्रित सहयोगलाई बढावा दिनेछौँ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय परिस्थिति झन्झन् गम्भीर बन्दै गएको छ र हामी इतिहासको एउटा निर्णायक मोडमा छौँ भन्नु अतिशयोक्ति होइन।’
बैठकमा जलवायु परिवर्तन, बढ्दो जनसङ्ख्या र व्यापारलगायतका विषयमा शनिबार छलफल हुनुका साथै विपद् राहत र विज्ञान तथा प्रविधिमा मिलेर काम गर्ने विषयमा छलफल हुने अधिकारीहरूले बताएका छन्।
हालैका हप्ताहरूमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र केही हदसम्म दक्षिण कोरिया र जापानमाथि लगाएको करको मारले यी तीनै मुलुकलाई प्रभावित बनाएको छ। कुनै पनि मन्त्रीले प्रेसलाई दिएको बयानमा यस मुद्दालाई प्रत्यक्ष रूपमा सम्बोधन गरेनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।