एजेन्सी –लागूऔषध सम्बन्धी आरोपमा चीनले चार क्यानेडियालीहरूलाई मृत्युदण्डको सजाय सुनाएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार क्यानडाका अधिकारीले उक्त खबरको पुष्टि गरेका छन् ।
क्यानडाका विदेशमन्त्री मेलानी जोलीले बुधबार पत्रकारहरुसँग कुरा गर्दै उनीहरु सबैसँग दुई देशको नागरिकता रहेको र उनीहरुको परिवारको अनुरोधमा पहिचान गोप्य राखिएको बताएकी छिन् ।
उनले व्यक्तिगत रूपमा दयाको लागि अपिल पनि गरेकी छिन् । खबरहरूका अनुसार क्यानडास्थित चिनियाँ दूतावासका प्रवक्ताले क्यानाडाली नागरिकहरूले गरेका अपराधहरूको प्रमाण ठोस र पर्याप्त रहेको बताएका छन् । साथै उनले क्यानडालाई गैरजिम्मेवार टिप्पणी गर्न बन्द गर्न आग्रह पनि गरेका छन् ।
चीनले सम्बन्धित क्यानेडियाली नागरिकहरूको अधिकार र हितको पूर्ण ग्यारेन्टी गरेको चिनियाँ दूतावासले बताएको छ । चिनियाँ प्रवक्ताले क्यानडा सरकारलाई चीनको न्यायिक सार्वभौमसत्ताको सम्मान गर्न आग्रह पनि गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।