एजेन्सी –इजरायलले गाजा क्षेत्रमा पुनः भीषण आक्रमण गरेको छ । आक्रमणमा महिला, बालबालिका सहित कम्तिमा २ सय जनाको मृत्यु भएको समाचार संस्था अलजजिराले उल्लेख गरेको छ । युद्धविरामका कारण २ महिना रोकिएको आक्रमण इजरायलले फेरि सुरु गरेको हो । इजरायली सेना आईडीएफले हमास समूह लक्षित आक्रमण तीव्र पारेको बताएको छ ।
आईडीएफले यो आक्रमण तत्काल नरोकिने र स्थलगत आक्रमण पनि सुरु हुने बताएको छ । त्यसअघि इजरायली प्रधानमन्त्र बेन्जामिन नेतन्याहूले हमासविरुद्ध कडा कारबाहीको आदेश दिँदै आवश्यक सैन्य शक्ति बढाइने बताएका थिए ।
गत जनवरी १९ मा इजरायल र हमास समूहबीच युद्धविराम सहमति भएपछि आक्रमण रोकिएको थियो । युद्धविराम पहिलो चरणमा मात्रै कार्यान्वयन भयो । इजरायल र अमेरिकाले हमास समूहलाई सबै बन्धक तत्काल रिहा गर्न दबाब दिँदै आए पनि हमास समूहले रिहा गर्न मानेको थिएन ।
बन्धक रिहा नगरे कडा कारबाही गर्ने चेतावनी दुवै देशले दिएका थिए । अमेरिकी रक्षामन्त्री इजरायल काट्जले सबै बन्धक फिर्ता नगरिए हमासलाई नर्कको बाटो देखाउने चेतावनी दिएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिनासर्त बन्धक रिहा नगरे निर्णायक कारबाही गर्ने बताएका थिए । अहिले इजरायल रक्षा बलले हमाससँग सम्बन्धित आतंकवादीलाई लक्षित गरेर आक्रमण गरिरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।