काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र मास्नका लागि हतियार उठाएर हिंसा मच्चाउने व्यक्तिहरूले संविधान मास्न खोजेको आरोप लगाउने गरेको टिप्पणी गरेका छन्।
बुधबार काठमाडौंमा मानव अधिकार रक्षकहरूको पाँचौँ राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेका कारण मुलुकमा संविधान निर्माण भएको जिकिर गरे।
मानव अधिकारको रक्षा र संविधानको मौलिक हकहरूको कार्यान्वयनका लागि सरकार कटिबद्ध रहेको प्रमको भनाइ छ । मानव अधिकारको पक्षमा बोले अमानवीय तवरले धम्की आउने गरेको भन्दै उनले मानव अधिकारविरुद्धको असामाजिक क्रियाकपाल सह्य नहुने प्रष्ट्याए।
प्रधानमन्त्री ओलीले मानव अधिकारका लागि आन्दोलन गर्ने दुई ठूला दलको सहभागितामा अहिलेको सरकार बनेकाले यसले मानव अधिकारको उल्लङ्घन हुन नदिन र कानूनी शासनको पालना गर्नमा विशेष महत्व दिने धारणा राखे।
नेपाली जनतालाई सुखी र समृद्ध बनाउनका लागि यथार्थरूपमा मानव अधिकार स्थापित हुनुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको ओलीको भनाइ छ । उनले नेपालले मुत्युदण्डको सजायको व्यवस्था नअपनाउने स्पष्ट गर्दै दोषका आधारमा कडा भन्दा कडा सजाय दिन सकिने बताए।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलायन्स) द्वारा स्थापित एक लाख राशीको मानव अधिकार तथा स्वतन्त्रता पुरस्कार वरिष्ठ पत्रकार भैरव रिसाललाई प्रदान गरिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।