दार्जीलिङ- छुट्टै गोर्खाल्यान्ड राज्यको मागमा रहेको दार्जीलिङ पहाडमा हिंसा भड्किएको छ। १०५ दिनको बन्द खुलेको १६औं दिनमा दार्जीलिङमा भड्किएको हिंसामा एकजना प्रहरीको मृत्यु भएको हो।
भूमिगत रहेका गोरखा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङलाई पक्राउ गर्ने उद्देश्यले परिचालित सुरक्षाकर्मी र मोर्चाका कार्यकर्ताबीच भएको झडपमा प्रहरी अधिकारी अमिताभ मल्लिकको मृत्यु भएको हो। झडपका क्रममा दोहोरो फायरिङ भएको प्रहरीले दाबी गरेको छ।
शुक्रबार बिहान प्रहरीले वर्नसवेग चिया बगानमा छापा मारेको थियो। तकभर क्षेत्रमा विमल गुरुङका कार्यकर्तासँग प्रहरीको दोहोरो झडप सुरु भएको थियो। घटनामा आन्दोलनकारी तर्फ कति मानिस हताहत भए भन्ने यकिन विवरण आएको छैन।
विमल गुरुङले बिहीबार आफू ३० अक्टोबरमा सडकमा आउने बताएका थिए। उनले मर्नुपरे जनताअघि मर्ने अभिव्यक्ति दिनासाथ प्रहरीले उनको खोजी तीव्र पारेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।