काठमाडौं– नेकपा माओवादी केन्द्र ‘जनतासँग माओवादी तराई मधेस जागरण अभियान’बाट निकै उत्साहित भएको छ । माओवादी केन्द्रले फागुन १२ गतेदेखि हुलाकी मार्ग केन्द्रित जागरण अभियान सुरु गरेको हो ।
माओवादी ७ दिनमै अभियानबाट उत्साहित देखिएको हो । अभियानको समीक्षा गर्न सोमबार दिउँसो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले अभियानले जनतासँग पार्टीको सम्बन्धलाई बहुमआयमिक र गुणात्मक बनाएको निष्कर्ष निकालेको प्रवक्ता अग्निप्रसाद सापकोटाले रातोपाटीलाई बताए ।
‘हुलाकी मार्गमा आधारित भएर माघ १२ गतेदेखि पार्टीले तराई मधेस जागरण अभियान सुरु गरेको थियो । धनुषामा आएपछि दुई दिनका लागि विश्राम लिएका छौँ । अभियान निकै उत्साहजनक छ । अभूतपूर्व सहभागी भएका छन्,’ उनले भने ।
पहिला कार्यकर्ता केन्द्रित भएर अभियान चलाएको जिकिर गर्दै सापकोटाले अगाडि भने, ‘२२ गतेदेखि फेरि अभियानमा जोडिन्छौँ । सुशासन, सामाजिक न्याय र समृद्धिको विरुद्धमा सरकारले गरेको गतिविधिबाट जनता निराश देखिएका छन् । जनताले अब माओवादीलाई नै भरोसायोग्य पार्टी मानेका छन् । झापादेखि धुनषासम्म जनसहभागिताले हामी बलियो शक्तिका रूपमा उठ्दै गरेको महसुस गरेका छौँ ।’
अभियानको क्रममा कुनै सुविधासम्पन्न होटेलमा नबसेको र आफ्नै वर्ग समुदायको घरमा बस्ने, खाना खाएको, प्रत्यक्ष जनसम्पर्कमा जोडिएको, उनीहरूको पीरमर्का नजिकबाट बुझेकाले यो अभियान असाध्यै बहुआयमिक महत्त्वको भएको सापकोटाले दाबी गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।