काठमाडौं– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधान संशोधनका लागि एक महिनाभित्रै कांग्रेस र एमालेको संयन्त्र बन्ने बताएका छन् । उनले संविधान संशोधनका विषयमा दुई दलबीच छलफल चलिरहेको भन्दै संयन्त्र बनाएर काम अघि बढ्ने बताए ।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा प्रतिनिधिसभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको तयारीबारे भैरहवामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपसभापति खड्काले दुई दलबीच संयन्त्र बनेर छलफल सुरू भएपछि सरकारमा सहभागी र त्यसपछि प्रतिपक्षी दलहरूसँग छलफल थाल्ने बताए ।
उनले संविधानलाई सबैको साझा, प्रगतिशील र समावेशी बनाउने गरी संशोधनका विषयमा छलफल चलाइने सुनाए ।
फरक प्रसंगमा उनले संसदमा पेश भएको सामाजिक सञ्जालसम्बन्धी विधेयक केही परिमार्जनसहित पारित हुने बताएका छन् । संविधानले दिएको अधिकारलाई रक्षा गर्दै सामाजिक सञ्जालको गलत प्रयोगलाई नियमन गर्न खोजिएको उनको भनाइ थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।