फाइल तस्बिर काठमाडौं– माओवादीका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको सरकारले मिटरब्याज पीडितहरूलाई न्याय दिने काम अलपत्र पारेको आरोप लगाएका छन् । सिरहा सदरमुकाममा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
अहिलेको सरकार मिटरब्याजी, सुदखोर, जमिनदार र सामन्तीसँग मिलेको उनको आरोप छ । 'हामीले कानुन नै बनाएर मिटरब्याजीलाई कारबाही गर्दै थियौं,' उनले भने, 'तर अहिलेको सरकारले उनीहरूसँग मिलेर न्याय दिने काम नै रोकेका छन् ।'
आफूहरू सरकार बाहिर भएपनि यसविरुद्ध भण्डाफोर गर्ने र मिटरब्याज पीडितको पक्षमा आवाज उठाउन नछाड्ने प्रतिबद्धता उनले जनाए । 'हामी मिटरब्याज पीडितका लागि आवाज उठाइराख्छौं,' उनले भने, 'सोझासिधा नागरिकको रगत चुस्ने दलाल र सामन्तीलाई त्यसै छाडिन्न ।'
मिटरब्याज दलाल पुँजीपतिहरूले हुर्काएको गलत प्रथा र आर्थिक अपराध भएको कुरा सबैले बुझ्न आवश्यक रहेको उनको भनाइ थियो । नागरिकलाई खाँचो पर्दा मुलुकका वित्तीय संस्थाबाट सहजै ऋण पाउनसक्ने कुराको ग्यारेन्टी राज्यले गर्नुपर्ने उनले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।