काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन्।
बैठक आज साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बताएका हुन्।
उनका अनुसार बैठकमा पछिल्ला समसायिक राजनीतिक घटनाक्रम र सरकार सञ्चालनबारे छलफल हुनेछ। पछिल्लो केही दिनयता सत्तारूढ दलको छलफल राम्रोसँग हुन नसकेकाले बैठक बस्ने जनाएको छ।
‘नियमित जस्तै संयन्त्रको बैठक बस्दै आएको थियो। बीचमा कार्यदल पनि बस्थ्यो। तर, पछिल्लो समय गृहमन्त्री र परराष्ट्रमन्त्रीको व्यस्तताले प्रभावकारी छलफल भएको छैन’, प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘संसदमा धेरै विधेयकका विषय छन्। कार्यदलस्तरमा पनि छलफल भइरहेको छ। यीसहित सरकारका कामकारबाही, संसद्का विषयमा छलफल गरौं भनेर बस्न खोजिएको हो।’
संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल रहेका छन् भने कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा रहेका छन्।
छिल्लो समय सत्तारुढ दलहरू ६ वटा अध्यादेश पारित गर्न राष्ट्रियसभामा बहुमत नपुगेर अप्ठ्यारोमा परेका छन्। सरकारले अध्यादेश ल्याए पनि राष्ट्रियसभामा बहुमत नपुगेपछि प्रतिनिधिसभामासमेत प्रस्तुत गरिएको छैन। प्रमुख सचेतक घिमिरले बैठकमा यो विषयमा पनि छलफल हुने बताएका छन्। ‘अध्यादेशका विषयमा त्यस्तो एजेण्डा नै राखेर छलफल गर्ने विषय छैन, तर, शीर्ष तहका नेताबीच छलफल भएपछि अब कसरी अगाडि बढ्ने भनेर केही न केही छलफल होला’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।