इनरुवा– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्लिम समुदायको अधिकारलाई पूर्ण रुपमा कार्यान्वयन गर्न माओवादी गम्भीर रहेको बताएका छन् ।
सुनसरीको हरिनगर गाउँपालिका–२ स्थित घुस्कीमा आज मुस्लिम अगुवासँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले राज्यबाट अपहेलित मुस्लिम समुदायलाई संवैधानिक अधिकार सुनिश्चित गर्ने काम माओवादीले गरेको दाबी गरे ।
उत्पीडित उपेक्षित समुदायको सहभागितामा भएको जनयुद्धका कारण राजनीतिक परिवर्तन सम्भव भएको र राजनीतिक परिवर्तनलाई संस्थागत गर्न बनेको संविधानले धर्म निरपेक्षतालाई स्थापित गरेकाले मुस्लिम समुदाय अधिकार सम्पन्न भएको उनको भनाइ थियो ।
हरिनगर–६ को मुस्लिम बस्तीमा भएको कार्यक्रममा मुस्लिम अगुवाले पूर्वप्रधानमन्त्री समेत रहेका दाहालसमक्ष ज्ञापनपत्र बुझाएका थिए । उनीहरूले सीमा क्षेत्रका समस्या र मुस्लिम समुदायका आवाजप्रति गम्भीर हुन र बेलाबेलामा हुने साम्प्रदायिक हिंसाप्रति राज्य संवेदनशील हुनुपर्ने माग गरेको स्थानीय दिल मोहमत मियाँले बताए ।
‘तराई मधेस जागरण अभियान’ सुरु गरेको आज चौथौ दिन नेकपा (माओवादी केन्द्र) ले सुनसरीको विभिन्न स्थानमा कार्यक्रम गरेको छ । कार्यक्रममा अध्यक्ष दाहालसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नीप्रसाद सापकोटा, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, नेत्री पम्फा भुसाललगायतका शिर्ष नेताहरुको उपस्थिति रहेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।