काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश आर्थिकरूपमा कमजोर र सामाजिक रूपमा अराजक बन्दै गएको कारण समस्यामा पर्न लागेकोले अहिले देशका ठूला दुई राजनीतिक दल मिलेर सरकार बनाएको बताएका छन् ।
नेकपा एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको आयोजनामा बुधबार काठमाडौंमा भएको जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै नेपालमा साना पार्टीले ठुला पार्टीलाई घुक्र्याएर शासन गर्ने गलत संस्कार सुरु भएको बताए ।
उनले भने, ‘म अरूको सहयोगमा प्रधानमन्त्री बनेको हुँ भन्ने कुरालाई समेत बिर्सिएर ठूला दल माथि माओवादीले शासन गर्न सुरु गरेपछि दुई दल मिलेका हौं । हामी मिल्नु भनेको शासन गर्नको लागि मात्र होइन, अहिले सङ्कटग्रस्त बनेको अर्थतन्त्रलाई लयमा फर्काउने, सुशासन कायम गर्ने र जनतामा बढ्दै गएको निशालाई चिर्नको लागि हामी मिलेका हौँ ।’
सरकारले ल्याएको अहिलेको अध्यादेश औचित्यको आधारमा अध्यादेश ल्याएको बताए । सरकार अध्यादेश ल्याउन मात्र होइन नयाँ कानुन बनाउन पनि केन्द्रित रहेको बताए ।
उनले थपे, ‘यसले असन्तुष्टि बढ्छ, असन्तुष्टिले अराजकता बढाउँछ, अवसरवाद र अराजकता राजनीतिक आन्दोलनका बाधक हुन्, यी दुई कुरालाई परास्त नगरी हामी अघि बढ्न सक्दैनौँ ।’
यस्तै, कुनै पनि संगठन एकताबद्ध र अनुशासित भएन भने उसले उपलब्धि प्राप्त गर्न नसक्ने उनले बताए । कुनै पनि उद्देश्यको लागि सांगठनिक शक्ति आवश्यक पर्ने पोखरेलले बताए ।
उनले थपे, ‘विचारले मात्रै हुँदैन, विचारलाई संगठनमा बदल्नु पर्छ, संगठनलाई उद्देश्यमा बदल्नु पर्छ ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।