काठमाडौं– नेकपा एमालेका सांसद रघुजी पन्तले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो हैसियत नबिर्सिन आग्रह गरेका छन् । प्रतिनिधिसभाको बैठकपछि संसद भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै निर्मल निवास घेर्न आउने दिन नआओस् भन्दै चेतावनी दिए ।
उनले भने, ‘राजाले मान्छेलाई आह्वान गरेर जुलुसमा साथ दिनुपर्यो भन्दा नेपाली जनता र राजनीतिक दलहरु मिलेर निर्मल निवास घेरे भने के हुन्छ ? उनीहरूलाई पनि त्यो अधिकार छ नि !’
उनले पूर्वराजाले नभई जनतालाई साथ दिन आह्वान गर्न प्रचण्ड र राजेन्द्र लिङ्देनलाई सुहाउने तर्क गरे ।
उनले थपे, ‘अहिले हामीले शान्तिपूर्ण हिसाबले अघि बढेका छौं । अरु देशमा राजाहरू काटिएका इतिहास छन् । हामीले स-सम्मान राजालाई संसदबाट गणतन्त्रको घोषणा गरेर बिदा गर्यौं । उहाँलाई पूर्वराष्ट्राध्यक्षको सम्मान दिएकै छ । सुरक्षा संयन्त्र दिएकै छ । त्यसलाई त हिजोको राजाले बोक्नसक्नुपर्यो नि ! त्यो सम्मान बोक्न नसकेर राजनीतिक दलको नेताले गर्नु कुरा, त्यस्तो आह्वान त प्रचण्डजीलाई गर्न सुहाउँछ, राजेन्द्र लिङ्देनजीलाई सुहाउँछ अरु राजनीतिक दलललाई सुहाउँछ, पूर्वराजालाई सुहाउँदैन ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।