एजेन्सी – जर्मनीमा सम्पन्न आम चुनावमा कन्जरभेटिभ सीडीयू पार्टी देशको सबैभन्दा ठूलो पार्टी बनेको छ। यस पार्टीले सबैभन्दा बढी २८ दशमलव ६ प्रतिशत मत पाएको छ।
सीडीयू/सीएसयू पार्टीका नेता फ्रिड्रिख मर्त्जले आफ्नो पार्टीको जितमा खुसी व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘आज हामी उत्सव मनाइरहेका छौं। भोलिदेखि काम गर्नेछौं।’
जर्मनीमा चुनावपछि मतगणना सम्पन्न भइसकेको छ। चुनावी नतिजाअनुसार अल्टरनेटिभ फर जर्मन पार्टी (एएफडी) दोस्रो र सोशल डेमोक्रेटिक पार्टी तेस्रो भएको छ।
चुनावी नतिजालाई लिएर यूरोपका नेताहरुको प्रतिक्रिया आउने क्रम जारी छ। ब्रिटेनका प्रधानमन्त्री कीएर स्टार्मरले भनेका छन्, ‘म जर्मनीको नयाँ सरकारसँग मिलेर काम गर्न र दुवै देशबीच पहिलेदेखि रहेको मजबुद सम्बन्धलाई अझ राम्रो बनाउँदै काम गर्नका लागि तयार छु।’
उनले ब्रिटेन र जर्मनी दुवै एकसाथ मिलेर दुवै देशको सुरक्षा र विकासका लागि काम गर्ने प्रतिक्रिया दिएका छन्।
यस्तै फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँले कन्जरभेटिभ पार्टीका नेता फ्रिड्रिक मर्त्जलाई बधाई दिँदै दुई देश मिलेर शक्तिशाली युरोपका लागि काम गर्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।