चन्दननाथ, जुम्ला – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ जुम्ला आएका छन्।
जुम्ला सदरमुकामदेखि हिँडेर एक दिन लाग्ने हिमा गाउँपालिका ७ धाचुमा स्याउ रोप्नका लागि उनी जुम्ला आएका हुन्।
जुम्ला आएका विप्लवलाई नेकपा जुम्लाका नेता कार्यकर्ता तथा स्थानीय जनताहरुले बाजागाजा र फूलमालासहित स्वागत गरेका हुन्। चार दिनदेखि चलिरहेको पार्टीको स्कुलिङ्ग तथा स्याउ रोप्ने कार्यक्रमका लागि नेकपाका महासचिव विप्लव सहित अन्य नेता तथा कायकर्ताको टोली जुम्ला आएका छन्।
नेकपाका जुम्ला जिल्ला इन्चार्ज विर्खबहादुर शाही ‘प्रभाजित’ का अनुसार महासचिव विप्लवका साथमा नेकपाका स्थायी समिति सदस्य सन्तोष बुढामगर, महासचिव विप्लवको जीवन सङ्गीनी सहितको टिम जुम्ला आएको हो।
नागरिकको स्वागत कार्यक्रममा संक्षिप्त कुरा राख्दै महासचिव विप्लवले जनतालाई कृषिमा आत्मनिर्भर बनाउन जुम्लामा स्याउँ रोप्न आएको बताए काथिए । ‘पहिला नेता र कार्यकर्ता उत्पादनमा आत्मनिर्भर हुनुपर्छ, त्यसपछि जनतालाई आत्मनिर्भर बनाएर देशलाई समृद्धिको दिशामा अगाडि बढाउनुपर्छ । सोही लक्ष्य अनुसार यसपटक पुनः स्याउ रोप्न आएँ’, उनले भने ।
विप्लवले कृषि उत्पादनले नै देशलाई आत्मनिर्भर बनाउने भएकाले सबैलाई कृषि उत्पादनमा लाग्न आग्रह गरे। विप्लवले जुम्ली जनतालाई परिवर्तन र पार्टीको उत्पादनको योजनामा साथ दिन अपिल गर्दै न्यानो माया दिएर स्वागत गर्ने जनतालाई विशेष धन्यवाद ज्ञापन गरे।
नेकपाको केन्द्रीय उत्पादन विभागको आयोजनामा जुम्लामा आइतबार करिब एक हजार बढी स्याउको बोट रोप्ने कार्यक्रम रहेको नेकपा जुम्लाले जनाएको छ। यसैगरी सो क्षेत्रमा चार दिनदेखि नेकपाको स्कुलिङ्ग चलिरहेको छ। जिल्ला इन्चार्ज बिर्खबहादुर शाहीका अनुसार धाचु गाउँमा पार्टीको स्कुलिङ चलिरहेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।