काठमाडौं– विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत छैटौं चरणको पहिलो खेलमा नेपाललाई हङकङले ८३ रनले पराजित गरेको छ। हङकङले दिएको १९५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपाल ३४.५ ओभरमा १ सय ११ रनमै अलआउट भयो।
ओपनर सागर पुन ३ रन र ज्ञानेन्द्र मल्ल २१ रनमा पेभेलियन फर्के। दीपेन्द्रसिंह ऐरी ३ रनमा आउट भए। कप्तान पारस खड्काले पनि २६ रन भन्दा बढी जोड्न सकेनन्।
आरिफ सेखले २३ रन तथा सोमपाल कामीले ११ रन जोडे। बसन्त रेग्मी र करण केसीले रनको खाता खोल्न सकेनन्। विनोद भन्डारी पनि १८ रनमा आउट भएपछि नेपाल कमजोर स्थितिमा पुग्यो।
हङकङका एइजाज खानले ३ तथा इसान खानले ५ विकेट लिए।
टस हारेर पहिले ब्याटिङ गरेको हङकङ ५० ओभरमा १ सय ९४ रनमा अलआउट भएको थियो। नेपालका सन्दीप लामिछाने ३ विकेट लिए। बसन्त रेग्मी र करण केसीले २–२ विकेट हात पारे। सुसन भारीले १ विकेट लिन सफल भए।
हङकङका लागि जिमी एट्किन्सनले सर्वाधिक ७६ रन बनाए। उनले ११७ बलमा ९ चौका र १ छक्का हिर्काए। उनलाई सुसनले एलबिडब्लुको धरापमा पारेका थिए। अन्त्यतिर उत्कृष्ट ब्याटिङ गरेका तनविर अजफलाई करणले पेभेलियन फर्काएका थिए।
करणले हङकङका ओपनिङ ब्याट्सम्यान अंशुमान राथलाई शून्य रनमा आउट गरेका थिए। यस्तै कप्तान बाबर हायत २९ रनमा रनआउटको सिकार भएका थिए। उनलाई नेपालका दीपेन्द्रसिंह ऐरीले रन आउट गरे।
सन्दीपले निजाकत खानालाई १२ रनमा विनोद भण्डारीबाट स्टम्प आउट गराए। उनले साइद वासिफ र एइजाज खानलाई पनि आउट गरे। बसन्तले वाकात खानलाई १४ रन बनाएर खेलिरहँदा पेभेलियनको बाटो देखाए।
हारसँगै नेपाल अंक तालिकाको शीर्ष चारमा पुगेर एक दिवसीय विश्वकप छनोट खेल्ने सम्भावना लगभग सकिएको छ। डब्लुसिएलमा नेपाल ८ अंक जोडेर छैटौं स्थानमा छ। नेपालले दोस्रो खेलमा आइतबार हङकङसँग नै खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।