सुर्खेत– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा अझै सुशासन कायम हुन नसकेको बताएका छन्।
कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा नेपाली कांग्रेसको पूर्वआप्रवासी समन्वय विभागद्वारा आज आयोजित ‘विदेशदेखि स्वदेशसम्म’ विषयक प्रदेश भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले सुशासनकै लागि वर्तमान सरकार गठन भए पनि अपेक्षित उपलब्धि नभएको बताए। उनले सरकारले अध्यादेश ल्याएर गलत गरेको टिप्पणी गरे।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका नेता कोइरालाले भने, ‘संसद् छँदै जथाभावी अध्यादेश ल्याउनु राम्रो होइन।’
नेता कोइरालाले पार्टीभित्र वा पार्टी बाहिरकाले सरकारको खबरदारी गरिरहेको बताए। उनले विसं २०८४ अघि नै कांग्रेस पार्टीको महाधिवेशन गर्नुपर्ने सुझाव दिए। सत्ता गठबन्धनबीच भएको सातबुँदे सहमति कार्यान्वयन नभएको र सरकार सुशासनका साथै अर्थतन्त्र सुधारमा कमजोर देखिएको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।