काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माण गर्ने उद्देश्यले पार्टीका तर्फबाट स्थानीय तहमा विजयी प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षलाई प्रशिक्षण दिने भएको छ।
त्यसबका लागि माओवादीले शनिबार र आइतबार कामाठमाडौंमा स्थानीय पालिकाका जनप्रतिनिधिको राष्ट्रिय भेला राखेको छ।
भेलामा स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माणसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
भेलामा माओवादी केन्द्रका तर्फबाट विजयी भएका एक सय २३ पालिकाका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षको सहभागिता रहनेछ। माओवादी केन्द्रले भेलाबाट पछिल्लो निर्वाचनमा विजय हासिल गरेका स्थानीय तहमा समाजवादको अभ्याससहितको कार्यक्रम निर्माण र नमूना पालिका बनाउने लक्ष्य लिएको छ।
भेलामा निर्धारित राष्ट्रिय सूचकाङ्कमा उत्कृष्ट ठहर भएका ११ वटा पालिकाका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षले आआफ्नो अनुभव सुनाउने कार्यक्रम रहेको छ। भेलामा समाजवाद निर्माणको आधारबारे विज्ञ सोमत घिमिरे, कृष्णराज अधिकारी, मीनबहादुर श्रेष्ठलगायतले प्रशिक्षण दिने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।