मोरङ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली जनताले लोकतन्त्रको विकल्प नखोजेको बताएका छन्।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै जनताले पटकपटक तानाशाह र निरंकुश शासन व्यवस्था अनुभव गरिसकेकाले लोकतन्त्रको विकल्प आफूले कल्पनासमेत गर्न नसक्ने बताएका हुन्।
उनले भने, ‘नेपालका नागरिकहरु, जसले विगतमा पटक–पटक निरंकुशता र तानाशाही शासनव्यवस्थाको अनुभुति गरेर आएका छन्, उनीहरु कसैले पनि यो व्यवस्थाको, यो लोकतन्त्रको विकल्प खोज्छ भन्ने म मान्दै मान्दिनँ। यस्तो कल्पना पनि गर्दिनँ। यो बहसमा भाग लिनु पनि आफैंमा नेपाली नागरिकको भरोसालाई गिज्याउन हो भन्ने ठाँछु। यसमा छलफल पनि नगरौं भन्ने अनुरोध छ।’
प्रजातन्त्रमा नागरिकले मुलुकको व्यवस्थाप्रति नभएर सरकारको काम–कारबाहीप्रति असन्तुष्टि जनाउने गरेको भन्दै उनले निर्वाचनको माध्यमबाट त्यो असन्तुष्टि व्यक्त हुने टिप्पणी गरे।
‘पार्टीका नेता तथा कार्यकर्ताले गुट–उपगुट नबनाई जनताको सर्वोपरी हितकालागि क्रियाशील हुनुपर्छ,’ महामन्त्री थापाले भने।
सञ्चारकर्मीको एक जिज्ञासामा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशका सम्बन्धमा सत्तामा रहेका दलहरूसँग छलफल गरिरहेको बताए। केही दिनभित्र समझदारी हुने विश्वास उनले व्यक्त गरेका छन्।
नेपाली कांग्रेसको महाधिवेशनको प्रक्रिया सुरु भइसकेको र विधानले तोकेको सीमाभित्रै सबै प्रक्रिया पूरा हुने पनि महामन्त्री थापाको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।