काठमाडौं –भारतीय जनता पार्टी (भाजपा)ले नयाँदिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्तालाई नियुक्त गर्ने निर्णय गरेको छ।
बुधबार दिउँसो बसेको भाजपाको दिल्ली विधानसभा संसदीय दलको बैठकले दलको नेता चुन्नका लागि ओमप्रकाश धनखड पर्यवेक्षक तोकेको थियो।
ओमप्रकाशसहित साँझ बसेको दलको बैठकले गुप्तालाई मुख्यमन्त्री चुन्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ।
२०२५ को दिल्ली विधानसभा चुनावमा गुप्ताले शालिमार बाग (उत्तर-पश्चिम) सिटबाट ६८,२०० मत ल्याएर जितेकी थिइन्। चुनावमा आम आदमी पार्टी की बन्दना कुमारीलाई २९,५९५ मतको अन्तरले पराजित गरेकी हुन्।
नवनियुक्त मुख्यमन्त्रीको शपथ ग्रहण समारोह विहीबार मध्याह्न रामलिला मैदानमा हुने बताइएको छ।
गुप्ता शालिमारबागबाट निर्वाचित भएकी थिइन्। उनी यसअघि दिल्ली नगर निगमको मेयर समेत भइसकेकी थिइन्। उनी भाजपा दिल्लीकी महासचिव र महिला मोर्चाको उपाध्यक्ष पनि हुन्।
गुप्तासहित प्रवेश बर्मा, शिखा राय, विजेन्द्र गुप्ता, आशिष सुद, सतिश उपाध्याय लगायत मुख्यमन्त्रीको आकांक्षी थिए।
नयाँदिल्लीको सत्तामा भाजना २७ वर्षपछि पुनरागमन गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।