काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्खाले भोगेको हन्डरले परिवर्तन भएको बताउँदै नयाँ पुस्ताले इतिहासलाई बिर्सन नहुने बताएका छन्।
प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जहानियाँ राणा शासन र प्रजातान्त्रिक व्यवस्थाको तुलना नै हुन नसक्ने बताएका हुन्।
जहानियाँ शासकले आफ्ना सन्तानका लागि दरबार बनाएको तर प्रजातन्त्रपछि जनताका लागि सडक, पुल, कुलो, बिजुली व्यापार केन्द्र र विद्यालय बनाएको स्मरण गराए।
उनले भने, ‘जहानियाँ शासकले सन्तानका लागि दरबार बनाए। जनताका लागि प्रजातन्त्रले सडक बनायो, पुल बनायो, कुलो बनायो, विजुली व्यापार केन्द्र र विद्यालय बनायो।’
उनले अहिले देशमा समग्ररुपमा विकास भइरहेको बताउँदै विकासोन्मुखबाट विकासशीलतिर अघि बढेको दाबी गरे।
आजको दिन यातनादायी र कहालीलाग्दो क्षणको स्मरणसमेत गरेका छन्। भावी पुस्ताले आजको दिनलाई बिर्सन नमिल्ने पनि बताए।
उनले भने, ‘२००७ साल फागुन ७ गते ! नेपालको इतिहासमा यस्तो सन्धिकाल हो, जसले हाम्रा पुर्खालाई हुकुमी शासनको क्रूर जन्जिरले बाँधिएको घना रातबाट स्वयंको विवेकले चल्ने स्वतन्त्रताको न्यानो विहानीमा पुर्याएको यातनादायी, कहालीलाग्दो तर साहसिक लामो यात्राको स्मरण गराउँछ’।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।