काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले देशको वर्तमान अवस्थाप्रति चरम असन्तुष्टि प्रकट गरेका छन्।
राष्ट्र जोगाउने र राष्ट्रिय एकता कायम राख्ने हो भने आफूहरुलाई साथ दिन सबै देशवासीलाई उनको अपिल छ।
प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा एक भिडिओ मन्तव्य जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले यस्तो अपिल गरेका हुन्। राष्ट्रको हितका लागि आफूले त्याग गरेको, तर यो त्यागलाई कमजोरी नसम्झिन उनले सुझाव दिएका छन्।
‘राष्ट्रको हितमा हामीले उदारता राख्दै आयौं। हामीले जनताको भलो होस् भनेर आफ्नो ओहदा र सुखसुविधालाई पनि त्याग गरेका हौं। त्यागले कसैको कद सानो हुने होइन। त्यस्तो भावलाई कसैले पनि कमजोरी ठान्नुहुँदैन’, पूर्वराजाले भनेका छन्।
जनता र राजा मिलेर प्रजातन्त्रलाई सबल बनाउन लागि परेको इतिहास साक्षी रहेको उल्लेख गरे । प्रजातन्त्र आजको शासन पद्धतिमा उच्चतम पद्धति हुनुपर्ने शाहले बताए । प्रजातन्त्रमा सबैको पहिचान र अस्तित्व हुनुपर्ने उनले बताए ।
‘निषेधको दृष्टिकोण राख्ने राजनीतिले प्रजातन्त्रलाई बलियो बनाउँदैन’ शाहले भिडियो वक्तव्यमा भनेका छन्, ‘पक्ष विपक्षको अहंकार आआफ्नै खालको स्वार्थ तथा हठले पनि प्रजातन्त्रलाई गतिशील बनाउन सक्दैन ।’
देशको इतिहास मेटिँदै गएको अनुभूति पूर्व राजा शाहले गरेका छन् । नेपालीको पसिना स्वदेशमा नभई बाहिर पोखिएको शाहले बताए । ‘जन्मदै नेपालीको शिरमा हजारको होइन, लाखको ऋणभार बोझ छ,’ शाहले भने । विद्यार्थी र शिक्षक पातलिँदै गएको र व्यवसाय, व्यापार निरन्तर धरासायी भएको शाहको बुझाइ छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।