काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई सहकार्यका साथ अगाडि बढाउनुपर्ने बताएका छन् ।
सोमबार लुम्बिनी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले तीनै तहको सरकार मिलेर आपसी सहकार्यमा नेपाललाई नेपाली आफैले बनाउनुपर्ने बताएका हुन्।
‘हामीले आफ्नो मनोवललाई उच्च राखौं। हामी गर्न सक्छौं। कुनै पनि देश अर्काले आएर बनाइदिँदैन,’ प्रधानमन्त्री ओलीले भने।
उनले प्रविधिको प्रयोगबाटै उत्पादन र विकास निर्माणको कामलाई तिव्रता दिनुपर्ने बताएका छन्।
‘आइटी र प्रविधिको प्रयोग गर्छौं। उत्पादन, विकास र सुविधाका लागि प्रविधिको समेत प्रयोग गरेर विकास निर्माणलाई तिव्रता दिन्छौं,’ प्रधानमन्त्री ओलीले भने।
उनले कम खर्च बढी लाभ दिनेगरी प्रविधिको प्रयोग गर्ने पनि बताए।प्रविधिको प्रयोग गरेर आधुनिकतातर्फ छिटो अगाढि बढ्न सक्ने पनि बताए।
‘हामीले प्रयोग गर्ने ल्याकत अलिकति विकास गर्नुपर्छ। मोबाइल सबैको हातमा छ, मोबाइलको कसरी प्रयोग गर्ने भन्नेमात्रै हो,’ प्रधानमन्त्री ओलीले भने।
‘चालीस वर्ष अगाडि छिमेकी चीन गरिब मुलुक थियो, अहिले आफ्नै मेहनतले सम्पन्न भइसकेको छ । हामीले पनि प्रविधि प्रयोगको ल्याकत बढाएर आफैले देशको विकास गर्नुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘कुन ठाउँमा के उत्पादन हुन्छ भन्ने पहिचान गरेर ठुलो परिणाममा खेती र उत्पादन गर्न सकेमा बजार पाइन्छ । त्यस कारण हामीले त्यस्ता उत्पादनमा लाग्नुपर्छ । उद्योगहरू स्थापनाका लगानी विस्तार गर्नुपर्छ । त्यसका लागि सरकारको तर्फबाट सहजीकरण गर्नुपर्छ । तीन वटै तहका सरकार यसमा सहकार्यका साथ अगाडि बढ्नुपर्छ । केन्द्र सरकारले लगानी विस्तार र सूचना प्रविधि क्षेत्रको विकासका लागि विभिन्न अध्यादेश ल्याएको छ । कोही कसैले अरू कारणले विरोध गर्नु बेग्लै कुरा हो । आमरुपमा अध्यादेशप्रति उद्योगी, व्यवसायी र सूचना प्रविधि क्षेत्रमा नयाँ उत्साह ल्याएको छ । यसले स्वागत पाएको छ ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।