काठमाडौं – नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि ५ जनाको नाम सर्टलिस्टमा परेको छ । आवेदन दिएका १२ जनामध्ये कमल प्रसाद रेग्मी, चिरञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडाशैनी र शरद ओझाको नाम सर्टलिस्टमा प्रकाशन गरेको हो । अध्यक्ष छनोट समितिले अन्तर्वार्ता फागुन १० गतेका लागि बोलाएको छ ।
बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाललाई नागरिकता सम्बन्धी कसुर लागेपछि प्राधिकरणमा अध्यक्ष पद रिक्त छ । कार्यकाल सकिन करिब १ महिना बाँकी हुँदा सिलवाललाई यस्तो कसुर लागेको थियो । सरकारले पुस २६ गते अध्यक्षका लागि १५ दिनको समय दिएर आवेदन खुलाएको थियो । छनोट समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीको संयोजकत्वमा अर्थ सचिव डा. रामप्रसाद घिमिरे र ज्योतिचन्द्र ओझा सदस्य रहेका छन् ।
आवेदकहरूको कार्य योजना सहितको प्रस्तुती पछि अर्थ मन्त्रालयले तीन जनाको नाम मन्त्रिपरिषदमा पठाउने छ । मन्त्रिपरिषदले ३ जनाबाट १ जनालाई अध्यक्षमा चयन गर्नेछ । अध्यक्षको कार्यकाल चार वर्षको हुनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।