काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो सरकारको पालामा भन्दा अहिले अहिले अर्थतन्त्र सुधारको अवस्थामा रहेको दावी गरेका छन्।
आज संसदमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा उनले विभिन्न आँकडा प्रस्तुत गर्दै सो दावी गरेका हुन्।
प्रधानमन्त्रीलाई माओवादी नेता तथा पूर्वअर्थमन्त्री वर्षामान पुनले अहिले अर्थतन्त्रमा सिथिलता आएको भन्दै यसमा सुधार गर्ने योजना के–के छन् भनि सोधेका थिए।
उनको प्रश्न थियो, ‘अर्थतन्त्रमा सिथिलता आएको छ, जनताको चुल्हो महंगीको मारमा परेको छ, पूँजीगत खर्च हुन सकेको छैन, युवाको पलायन जारी छ। यस्तोमा समग्र अर्थतन्त्र सुधार गर्ने सरकारको नीति र प्राथमिकता के के छन् ?’
ओलीले ‘रुचीकर प्रश्न’ भन्दै जवाफ दिन थाले। उनले पुनलाई आफू अर्थमन्त्री हुँदा र अहिलेको अर्थतन्त्रको अवस्था तुलना गर्न आग्रह गरे।
प्रधानमन्त्रीको जवाफ यस्तो थियो, ‘देशको अर्थतन्त्रबारे चिन्ता गर्नुभएकोमा यसअघिको अर्थमन्त्रीसमेत रहनुभएका प्रश्नकर्ता माननीयज्यूलाई धन्यवाद नदिइरहन कसरी बस्ने। ७ महिना अगाडि तपाईं आफैं अर्थमन्त्री हुनुहन्थ्यो। त्यसभन्दा अगाडि र त्सयताको मूल्यवृद्धिको अनुपात हेर्न आग्रह गर्छु। प्रश्नका लागि धन्यवाद छ, तर उसबेलाको पनि सम्झनुपर्छ। हामीले आँकडामा प्रश्नोत्तर गर्ने र तुलना गर्ने बानी बसाउँ। हो, सरकारको पूँजिगत खर्च कम छ।
तर माननीयज्यू अर्थमन्त्री हुँदाको तुलनामा बढी नै छ। हाम्रो अर्थतन्त्रमा सुस्तता एकै दिनमा आएको होइन। सरकारमा आएपछि अर्थतन्त्र सुधारका लागि गम्भीररुपमा काम गरिरहेका छौं। असारमा धान नरोपेपछि नै मंसिरमा नफल्ने हो।
त्यस्तै सांसद पुनले ‘अध्यादेशलाई ल्याएर संरद्लाई किन होच्याएको ?,’ भनेर पनि प्रश्न गरेका थिए।
जवाफमा प्रधानमन्त्री ओलीले २०८० वैशाख २० गते सम्झन आग्रह गरे।
‘२०८० वैशाख २० गते सम्झन आग्रह गर्छु। त्यतिबेला संसद् सुरु हुनुभन्दा ४ दिन अघि अध्यादेश ल्याएको थियो,’ प्रधानमन्त्री ओलीले भने, ‘अध्यादेश ल्याउने अधिकार उहाँ सम्मिलित सरकारलाई मात्रै थियो भन्ने हो भने बेग्लै कुरा हो।’
आवश्यक पर्दा सरकारले अध्यादेश ल्याउने कुरा संविधानले नै व्यवस्था गरेको उनले जिकिर गरे।
‘मेरै पार्टी फुटाउन २० वा २० प्रतिशत भनेर अध्यादेश जारी गरिएको होइन र ?,’ प्रधानमन्त्री ओलीले भने, ‘अस्ति अध्यादेश ल्याउनुअघि धेरै हल्ला सुनेँ, पार्टी फुटाउनका लागि भनेर।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।