काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्नुको औचित्य भीम रावल र वामदेव गौतमलाई हेरे पुग्ने बताएका छन् ।
पार्टी निकट बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले आफूहरुले समयमै संकेत पाएर विद्रोह गरेको दाबी गरे ।
अध्यक्ष नेपालले भने, ‘हामीले विद्रोह गर्नुको कारणबाट प्रश्न उठ्ने गरेका छन् । त्यसका लागि धेरै पर जानुपर्दैन । एउटा उदाहरण कमरेड भीम रावल हुनुहुन्छ । हामीले विद्रोह नगरेको भए हाम्रो हालत पनि उहाँको जस्तै हुन्थ्यो । त्यसको अर्को उदाहरण वामदेव गौतम पनि हुनुहुन्छ ।’
उनले सुरुमै विद्रोहको आँट गर्दाका सबैले साथ दिएको भए ठूलो प्रगति भइसकेको हुने सुनाए ।
उनले भने, ‘हामी संख्यात्मक रुपमा पनि बहुमतमा हुने थियौं । र, अर्को पक्ष अलपत्र पर्ने थियो । सबै साथीहरु साथ छाडेर गए, ती जानेहरुसँग एक्लै बसेर कुरा गर्नुस् त उनीहरुको पीडा र वेदना सुन्नस् त । त्यो पार्टीको नाम एमाले भनिएको छ, तर पार्टीको नाम केपी बा हो । उहाँको निजी आदेशमात्रै चल्छ । उहाँको निर्देशन र आदेश पालना गर्नेबाहेक अरु टिक्न सक्दैनन् । त्यो पार्टी होइन ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।