काठमाडौं- पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्यको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।
घाइते भएलगत्तै अर्थमन्त्री पौडेलको गण्डकी मेडिकल कलेज र मेयर धनराज आचार्यको फिस्टेल अस्पताल प्राथमिक उपचार भएको थियो। त्यसपछि उनीहरु दुवैलाई काठमाडौं पठाइएको थियो।
कीर्तिपुर अस्पतालले सार्वजनिक गरेको स्वास्थ्य जानकारी अनुसार दुवै जनाको प्रारम्भिक मुल्यांकनमा ५ – ६ प्रतिशत भाग जलेको छ। अस्पतालले अनुहारमा समेत जलन भएकोले स्वासनली र फोक्सोमा असर गर्न सक्ने सम्भावना रहेको भन्दै उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरेको छ।
अस्पतालका निर्देशक डा किरणकिशोर नकर्मीका अनुसार पौडेल र आचार्यको उपचारका लागि प्राडा बीडी झा, डा प्रविण गिरी लगायतका सघन उपचार कक्षको एउटा टोलीका साथै प्राडा शंकरमान राई, डा विशाल कार्की, डा मनिष यादव लगायतको जलन विशेषज्ञहरुको टोली खटिएको छ।
यस्तै डा प्रयुस अर्याल लगायतका आकस्मिक उपचार टोली, रिता गौचन, निर्मला कुँवर, तृष्णा महर्जन लगायतको नर्सिङ टोली पनि उपचारमा खटिएको उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।