मकवानपुर – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दै गएको बताएका छन्।
मकवानपुरको झुरझुरेमा बागमती गाउँपालिकाले निर्माण गरेको सहिद स्मृति रंगशाला तथा सातौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको शनिबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
‘जबसम्म देशबाट भ्रष्टाचारको अन्त्य गरिँदैन र सामाजिक न्याय स्थापित गरिँदैन, त्यतिबेलासम्म देश अघि बढ्न सक्दैन भन्ने जनमत देशव्यापी रूपमा बलियो बन्दै गएको छ,’ प्रचण्डले भने, ‘मैले देशैभरि नयाँ राष्ट्रिय एकता निर्माणको अभियान थालेको छु। हाम्रो अभियान सफल बन्दै गएको छ।’
पूर्वप्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेन्डालाई बलियो बनाउँदै आवश्यकताअनुसार सडक, सदन र सरकारका सबै मोर्चाबाट राष्ट्रिय एकताका लागि अगुवाई गर्न माओवादी तयार हरेको बताए।
नागरिकलाई स्वस्थ बनाउन र देशको प्रतिष्ठा विश्वव्यापी रूपमा स्थापित गर्न खेलकुदको विकास महत्वपूर्ण भएको उल्लेख गर्दै उहाँले स्थानीय सरकारले यसमा ध्यान दिनु थप महत्वपूर्ण भएको बताए।
आफू प्रधानमन्त्री भएको बेलामा खेल पूर्वाधार निर्माण र खेलाडीको प्रोत्साहनका लागि धेरै कार्यक्रम अगाडि सारेको उल्लेख गर्दै प्रचण्डले खेलका कारण देशको प्रतिष्ठा उँचो बन्दै गएको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।