काठमाडौं– नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा निर्वाचित डा बाबुराम भट्टराईले राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीका बारेमा आक्रामक प्रतिक्रिया दिएका छन् ।
शुक्रबार शपथ ग्रहण कार्यक्रममा ज्ञानेन्द्र शाहीबारे पत्रकारले सोधेको प्रश्नमा उनले आफू नचिन्ने र उनको नामसमेत नलिन जवाफ दिएका छन् ।
यस्तै कार्यक्रममा होहल्ला भएपछि पहिलेदेखि आक्रोशित बनेका भट्टराईलाई पत्रकारहरुको सवालले झन् तनावमा ल्याइदियो । कार्यक्रममा युट्यूबरले माओवादीमा फर्किन खोज्नुभएको हो कि प्रचण्डले भित्र्याउन नचाहेका हुन्? भन्ने प्रश्नमा भट्टराई झोँक्किए ।
जवाफमा उनले भने, ‘बाबुराम कुकुर हो र, घाँस हाल्नेबित्तिकै जुठो खान जाने ? के कुरा गर्या ? लाज लाग्दैन तपाईंलाई ? बाबुराम त्यस्तो मान्छे हो ? बाबुराम भट्टराईले त्यत्रो जनयुद्धको नेतृत्व गर्यो । संघीय लोकतान्त्रिक गणतन्त्रसम्म पुर्यायो । त्यहाँभन्दा अगाडि जाँदैछ उ । अरु साथीहरु थाक्नुभयो । अहिले पनि त्यही ब्याज खाइराख्नुभएको छ । फरक त्यहाँ हो । उहाँ (प्रचण्ड) लाई शान्ति प्रक्रिया पूरा गर्न सहयोग गरेको हो । उहाँले गर्नुभएन । उहाँले गर्न सक्नुहुन्नरहेछ भनेर हामी अगाडि बढ्यौं । उहाँ पछाडि छुट्नुभयो ।’
यस्तै राप्रपा सचेतक शाहीले जनयुद्धलाई धनयुद्धको टिप्पणी गर्दै आएको प्रशंगबारे सोध्दा भट्टराई युट्युबरमाथि जंगिए । ‘को हो ज्ञानेन्द्र शाही? त्यो मान्छे म चिन्दिनँ । त्यसको नाम लिन आवश्यक छैन ।’
श्रीमतीलाई वरिष्ठ नेता, छोरीलाई उपाध्यक्ष बनाएको विषयमा भने उनले जवाफ नै दिएनन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।