काठमाडौं – विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप हङकङले दिएको १९५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको नेपालले सय रन पूरा गरेको छ। तर नेपालले ८ विकेट गुमाइसकेको छ।
नेपालले ३० ओभरमा ८ विकेटको क्षतिमा सय रन पूरा गरेको हो । ओपनर सागर पुन ३ रन र ज्ञानेन्द्र मल्ल २१ रनमा पेभेलियन फर्के। दीपेन्द्रसिंह ऐरी ३ रनमा आउट भए। कप्तान पारस खड्का पनि २६ रनमा आउट भएका छन्। आरिफ शेखले २३ रन तथा सोमपाल कामीले ११ रन जोडे। बसन्त रेग्मी र करण केसीले रनको खाता खोल्न सकेनन्। विनोद भन्डारी र सुसन भारी ब्याटिङ गरिरहेका छन्। हङकङका एइजाज खानले ३ विकेट लिएका छन्।
पहिले ब्याटिङ गरेको हङकङ ५० ओभरमा १ सय ९४ रनमा अलआउट भयो। हङकङको इनिङ ध्वस्त पार्न नेपालका सन्दीप लामिछाने ३ विकेट लिए। बसन्त रेग्मी र करण केसीले २–२ विकेट हात पारे। सुसन भारीले १ विकेट लिन सफल भए।
हङकङका लागि जिमी एट्किनसनले सर्वाधिक ७६ रन बनाए। उलने ११७ बलमा ९ चौका र १ छक्का हिर्काए। उनलाई सुसनले एलबिडब्लुको धरापमा पारे। अन्त्यतिर उत्कृष्ट ब्याटिङ गरेका तनविर अजफलाई करणले पेभेलियनको बाटो देखाए।
करणले हङकङका ओपनिङ ब्याट्सम्यान अंशुमान राथलाई शून्य रनमा आउट गरेका थिए। यस्तै कप्तान बाबर हायत २९ रनमा रनआउटको सिकार भए। उनलाई नेपालका दीपेन्द्रसिंह ऐरीले रन आउट गरेका हुन्।
सन्दीपले निजाकत खानालाई १२ रनमा विनोद भण्डारीबाट स्टम्प आउट गराए। उनले साइद वासिफ र एइजाज खानलाई पनि आउट गरे। बसन्तले वाकात खानलाई १४ रन बनाएर खेलिरहँदा पेभेलियनको बाटो देखाए।
शुक्रबार र आइतबार हुने दुई खेलले नेपालको आगामी यात्रा तय गर्नेछ। जित हात पारे तालिकाको शीर्ष चारमा पुगेर एक दिवसीय विश्वकप छनोट खेल्ने सम्भावना जीवित रहनेछ। हारले नेपाल डिभिजन–२ मा झर्नेछ। यद्यपि डिभिजन–२ मा शीर्ष दुईभित्र पर्न सके एक दिवसीय विश्वकप खेल्ने विकल्प बाँकी नै रहनेछ। डब्लुसिएलको पाँचौं चरणको खेल सकिँदा नेपाल ८ अंक जोडेर छैटौं स्थामा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।