काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद तथा प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले देशमा अब दुईथरी संविधान बनाउन आग्रह गरेका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले केपी ओली सरकारको नजिक हुनेलाई एउटा र सामान्य जनतालाई अर्को व्यवहार हुने हो भने दुई संविधान बनाउन आवश्यक रहेको बताएका हुन् ।
उनले भने, ‘यो देशमा अब दुई संविधान बनाउनुहोस् । केपी सरकारको ट्याग लाग्नेबित्तिकै कसैलाई उन्मुक्ति दिइने र अरुलाई कानुनी डण्डा लाउने हो भने एउटै संविधानले सम्बोधन हुन सक्दैन । एक राज्यको संविधान अनि अर्को केपी ओलीको संविधान बनाउँ ।’
उनले ठमेलमा एमाले स्थायी कमिटी सदस्य कमलराज जोशीको समूहले प्रहरीमाथि भएको आक्रमणमा उन्मुक्ति दिइएको भन्दै आपत्ति जनाए । रक्सी खाएर मातिएका एमाले कार्यकर्ताले प्रहरीमाथि गरेको आक्रमण देख्दादेख्दै पनि उन्मुक्ति दिइएकाले अब सरकारको नजिक नहुनेलाई यो देश असुरक्षित रहेको टिप्पणी गरे ।
सरकारले त्यसमा उन्मुक्ति दिएर प्रहरीको शीर निहुराउने काम गरेको बताए । यस्तै बालश्रम मुद्दामा मुछिएकी एमाले लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मालाई दिइएको उन्मुक्तिबारे पनि उनले आपत्ति जनाए ।
वर्तमान सरकारको ट्याग लाग्नेबित्तिकै बलात्कार, हत्या, लुटपाटजस्ता जघन्य अपराधमासमेत छुट दिने गरेकाले अब देशमा दुईथरी कानुन बनाएर सरकार नजिक भएकालाई जस्तोसुकै अपराधमा पनि छुट दिन व्यङ्ग्यसमेत गरे ।
यस्तै मानव तस्करी मुद्दामा जोडिएका कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्रीलाई दिइएको उन्मुक्तिमा पनि आपत्ति जनाए । मदन भण्डारी र बीपीका विचार बोकेका पार्टीहरुको नेतृ्त्वमा भइरहेका यस्ता करामतहरुले देशमा विधिको शासन छैन भन्ने पुष्टि गरेको बताए ।
‘यतिबेला मदन भण्डारी हुनुहुन्थ्यो भने एमालेको यस्तो गति देखेर फेरि मर्नुहुन्थ्यो होला। बीपीका विचार बोकेको दल पनि सरकारमा छ। तर उहाँ हुनुहुन्थ्यो भने अहिले अर्कै पार्टीमा गइसक्नुहुन्थ्यो ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।