काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको छ।
मंगलबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो।
सरकारले संसद् अधिवेशन नरहेका बेला विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो। त्यसमध्ये भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय जसपा नेपालले गरेको हो।
बाँकी ५ वटा अध्यादेश अगाडि बढाउने सन्दर्भमा स्वीकृतिका लागि सकारात्मक रहने जसपा नेपालको निर्णय छ।
जसपा नेपाल सरकारले ल्याएको अध्यादेश राष्ट्रियसभाबाट पारित गर्ने निर्णायक हो। जसपा नेपाल विपक्षमा उभिएपछि सरकारले ल्याएको भूमि अध्यादेश पारित नहुने भएको छ।
सरकारले सहयोग मागेपछि जसपा नेपालले उपाध्यक्ष यादवको नेतृत्वमा कार्यदल बनाएर अध्ययन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।