काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले एमाले नेतृत्वको सरकारको आलोचना गरेका छन् । उनले एमालेले गरेका गलत कामहरुलाई कांग्रेसले जनतामा लैजानुपर्ने समेत बताएका छन् ।
एमाले कांग्रेसको प्रतिस्पर्धी पार्टी भएको नभुल्न उनले पार्टी पंक्तिलाई सुझाव पनि दिए । आज आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै कोइरालाले एकैपटक ६ वटा अध्यादेश ल्याइएको विषयमा खुलेर आलोचना गरे ।
कांग्रेसले यो अध्यादेश शासनलाई समर्थन गर्न नहुने उनको भनाइ छ । यसबारेमा सभापति शेरबहादुर देउवालाई भने पनि अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही नभन्न भन्ने जवाफ दिएको बताए ।
‘दुई ठूला दल एक ठाउँमा उभिएपछि निरंकुशता हुन सक्छ भन्ने मान्यता विश्वमै छ । त्यो नै सबैभन्दा खतरनाक हो भन्ने लाग्छ । त्यो नहोस भन्नका लागि मैले सभापतिजीलाई धेरैपटक भनिसकेँ । पब्लिकली पनि भनिसकेँ । सरकारमा नेपाली कांग्रेसका मन्त्रीहरु जो हुनुहुन्छ, उहाँहरु सहमतीय हिसाबले जानुपर्छ,’ उनले भने ।
उनले अघि भने, ‘हाम्रा मन्त्रीजीले त्यो कुरा बुझ्नु भएको छैन । सभापतिजीलाई पनि पटक–पटक मैले कुरा गर्दा उहाँ भन्नुहुन्छ– किन भन्ने ? एमालेलाई–ओलीजीलाई केही पनि नभन्ने । त्यसरी हुँदैन । गलत छ भने गलत भन्न सक्नुपर्छ । जुन दिन हामीले गलत कुरालाई गलत भन्न सक्दैनौं, त्यो दिन नेपाली कांग्रेस समाप्त हुन्छ ।’
यस्तै भोलि सत्ता बाहिर हुँदा एमाले नै प्रतिस्पर्धी हुने भएकाले सरकारले गरेका गलत काम कारबाहीबारे जनतालाई कांग्रेसले जानकारी दिनुपर्ने उनको भनाइ छ ।
‘तर जो हामी (सरकार) बाहिर छौं, भोलि हाम्रो प्रतिस्पर्धी को हुन्छ ? भन्दा एमाले हुन्छ भनेर सबैले भन्छौं । सबैले यही भन्छौं । हामी एमालेसँग प्रतिस्पर्धा गर्दैछौं । सरकारमा पनि एमाले छ । त्यसैले एमालेले र यो सरकारले गरेका गलत कामहरुलाई हामीले पब्लिकमा लैजानुपर्छ । यो गर्न सकेनौं भने हामी कमजोर हुन्छौं,’ उनले भने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।