काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले दलित समुदायका नागरिकलाई मान्छे हुन नदिन राज्यका संयन्त्र परिचालन गरिएको आरोप लगाएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा प्रमुख सचेतक परियारले राज्यले संविधानविपरीत हरेक वर्ष दलित समुदायमाथि दमन र अन्याय गरिरहेको बताएका हुन् ।
'पैँतीस सय वर्षदेखि दलितलाई मान्छे हुन नदिएको र गैरदलितलाई चेतनशील मान्छे हुन नदिएको जात व्यवस्थाको कुरा राख्दैछु सभामुख महोदय । यो सदनमा सबै सम्मानित नेता हुनुहुन्छ । मार्क्सवादी आन्दोलनबाट खारिएर आएका नेता हुनुहुन्छ । तर यो राज्य संविधान मान्दैन । दलित समुदायलाई हरेक वर्ष घातक बनाउँछ विक्षिप्त बनाउँछ,' सांसद परियारले भने ।
व्यवस्था परिवर्तन गरेर संविधान निर्माण भइसक्दासमेत दलित समुदायका नागरिकले गैरदलितसँग विवाह गरेकै कारण मारिनु परेको उनले सुनाए । 'हामीले व्यवस्था परिपर्वतन गर्यौं, संविधान बनायौं तर आज दलित समुदायका नागरिकले गैरदलितसँग विवाह गरेका कारण मारिनुपर्ने, प्रेम गरेका कारण दलित घरबास उठिबास लाग्नुपर्ने अनि राज्यका संयन्त्र र संस्थानहरु र दलितलाई मान्छे हुन नदिनका लागि प्रयोग हुनुपर्ने?,’ उनले भने ।
उनले दलित समुदायमाथिको निरन्तरको दमन र अन्यायका सम्बन्धमा सभामुखमार्फत सरकारको जवाफ माग गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।